महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ। एउटा सबस्टेसनदेखि अर्काे सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि निर्मित डेडिकेटेड लाइन हो। यी चौबीसै घन्टा बिजुली आपूर्ति हुने सुविधायुक्त लाइन हुन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो विशिष्टीकृत सुविधा उपभोग गरेर २०७३ सालदेखि महसुल नतिरेका ग्राहकको लाइन काट्ने चेतावनी दिएका हुन्। कार्यकारी निर्देशक घिसिङका अनुसार विशिष्ट प्रकृतिको सुविधा उपभोग गरेबापत करिब चार अर्ब ३० करोड रुपैयाँ उठ्न बाँकी छ। ‘रकम नतिरे ती उद्योगको लाइन काटिनेछ,’ उनले भने।

उद्योगीले २० घन्टा वा सोभन्दा बढी समय डेडिकेटेड फिडरसरह विद्युत् आपूर्ति लिएका थिए। लोडसेडिङको समयमा उपभोग गरेबापतको महसुल भुक्तानी नगरे क्षतिपूर्तिसहितको रकम लाग्नेछ। प्राधिकरणले तोकिएभन्दा बढी समय बिजुली उपभोग गर्ने तर पैसा नतिर्ने ती उद्योगीलाई बिजुली चोरी वा क्षतिपूर्तिको रकम जोड्ने हो भने अहिले तिर्नुपर्ने शुल्कभन्दा निकै महँगो पर्ने दाबी घिसिङको छ। भिडियो तल हेर्नुहोस

Comments