२९ बैशाख, काठमाडौं । नेपालका लागि नेपाली अभियानले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन चर्काएको छ । अभिनेत्री रेखा थापा, अधिवक्ता डा. सुरेन्द्र भण्डारी, डा सुरेन्द्र केसी, अनिल योगी लगायत आवद्ध समूहले ओली सरकार संगठित भ्रष्टाचारमा रुमल्लिएको आरोप लगाउँदै आन्दोलन चर्काउँदै लगेका छन् ।

पछिल्लो समय यो समूहले प्रत्येक शनिबार काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा सरकारविरुद्ध चर्का नारावाजी हुने गरेको छ । उनीहरुले ‘देश बेच्न पाइँदैन, उखान टुक्का चाहिँदैन, बालुवाटार बेच्न पाइँदैन, एनसेलको कर तुरुन्त असुल गर, विदेशीलाई नागरिकता बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

वाइडबडी, मेलम्ची खानेपानी आयोजना, बालुवाटारको जग्गा बिक्री प्रकरणले ओली सरकारको भ्रष्टाचार उदांगो भएको अधिबक्ता डा. सुरेन्द्र भण्डारी बताउँछन् । सदनमा समेत प्रधानमन्त्री ओलीले असभ्य भाषा बोलेको र सभामुखले ति शब्द संसदको रेकर्डबाट हटाउन लागेको सन्दर्भ कोट्याउँदै उनले भने, ‘संसदमा जथाभावी बोल्ने ? थोरै पनि नैतिकता छ भने राजीनामा दिनुस् ।’

प्रधानमन्त्री ओली काम भन्दा गफमा रमाइरहेको उनको भनाइ छ । शनिबार ललितपुरको लगनखेलबाट जावलाखेलसम्म पुगेको र्यालीमा अभियानका अभियान्ता अनिल योगीले नेकपा नेतृत्वको वर्तमान सरकार नसच्चिए जनताले सडक आन्दोलनबाटै नागरिक सरकार गठन गर्ने चेतावनी दिए ।

उनले छिटै राष्ट्रिय नागरिक आयोग गठन गरेर सरकारविरुद्ध दबाव बढाउने बताए । अर्का अभियान्ता ज्ञानेन्द्र शाहीले वर्तमान संघीयता प्रणाली नै खारेज हुनुपर्ने बताए । उनले संघीयताले राज्यको ढुकुटी मात्रै सक्काउँदै लगेको र तह तहमा भ्रष्टाचार मौलाएको दाबी गरे । ‘तलदेखि माथिसम्म भ्रष्टाचार मौलाएको छ, संघीयता यो देशलाई आवश्यक छैन’, उनले भने ।

Comments