काठमाडौं । सरकारी लापरवाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम रोकिएको छ । आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको हो ।ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको हो ।

आयोजनाले एसियाली विकास बैंकबाट पाउनुपर्ने १० करोड रुपैँयाभन्दा धेरै रकम पाएको छैन । एडीबीबाट भुक्तानी नपाउँदा मुख्य ठेकेदार नर्थवेष्ट युनाइटेडले सहायक ठेकेदारलाई पनि भुक्तानी दिन सकेको छैन । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्यै सबैभन्दा राम्रो प्रगति भएको आयोजना हो । विमानस्थलमा अब जम्मा ५ सय मिटर धावनमार्ग पिच गर्न बाँकी रहेको छ । यस्तो अवस्थामा भुक्तानी रोकिएर काम ठप्प हुँदा ठूलो असर पर्ने आयोजनाले जनाएको छ ।

रन वे, ट्याक्सी वे, पार्किङ, एप्रोन लगायतका संरचनाको काम पनि ७० प्रतिशतको हाराहारीमा सकिएको छ । यहि जुन महिनामा काम सकेर सेप्टम्बरमा परीक्षण उडान गर्ने तयारी भएपनि बेलैमा काम नसकिने भएकाले सन् २०१९ भित्र भैरहवा विमानस्थल चलाउने नेपाल नागरिक उडड्यन प्राधिकरणको तयारी छ ।
विमानस्थलको लागि चाहिने सामग्रीको लागि टेन्डर आव्हान भैसकेको छ भने एअर रुटको पनि टुंगो लागेको छ ।

‘तर यस्तो अवस्थामा विमानस्थलको काम रोकिनेगरी सरकारले बेवास्ता गर्नुले सरकार विकास निर्माणका काममा गम्भीर नभएको देखिएको छ ।’ तर, अझै रकम दिन ढिला गरे ठेकदारले सम्पूर्ण आयोजनाको काम ठप्प पार्ने देखिएको छ । सरकारले सन् २०१९ भित्रै यो विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

Comments