काठमाडौं । एभीन्युज खबरका पत्रकार सुशील पाण्डेले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अन्तवार्तापछि आफूलाई ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् । समाजवादी पार्टीको केन्द्रीय सदस्य भएको बताउने व्यक्तिले फोन गरेर आफूलाई ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ ।

‘३–४ पटक फोन आयो, तँलाई पछिसम्म नोक्सानी पुर्याउँछु भन्दै ज्यान मार्ने धम्की आएको छ तर, मैले यसलाई सामान्य रुपमा लिएको छु’, उनले भने ।आफूले निकै संयम भएर प्रश्न गर्दा पनि उपप्रधानमन्त्री यादवले अन्तर्वार्ताको शुरुदेखि नै होच्याउने प्रवृत्ति देखाएको उनको आरोप छ ।गत आइतबार राती एभिन्युज खबर टेलिभिजनको कार्यक्रम ‘सकस राजनीति’मा पत्रकार पाण्डेले उपप्रधानमन्त्री यादवसँग कुराकानी गरेका थिए ।

तर, उक्त लाइभ अन्तर्वार्ताका क्रममै उपप्रधानमन्त्री यादव र पत्रकार पाण्डेबीच भनाभन भएको थियो र उपप्रधानमन्त्री यादवले माइक फ्याँक्दै अन्तर्वार्ता छोडेर हिँडेका थिए । हामीसँगको विशेष कुराकानीमा पत्रकार पाण्डेले उपप्रधानमन्त्री यादवमा दमन गर्ने पूराना शासकको प्रवृत्ति देखिएको आरोप लगाएका छन् ।

‘उहाँले नेपाली मिडियालाई पाठ सिकाउने, मेरा तिखा प्रश्नहरुको सामना गर्न सक्नु हुन्न भने जान सक्नु हुन्छ भनेको थिएँ’, भिडियो अन्तर्वार्तामा उनले भनेका छन् । पत्रकार पाण्डे र उपप्रधानमन्त्री यादवको उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल छ । अन्तर्वार्ताको घटनालाई लिएर मत विभाजित छ ।

केहीले उपप्रधानमन्त्री यादवको दोष रहेको बताइरहेका छन् भने भने अर्को जमातले पत्रकार पाण्डेको समेत प्रश्न गर्ने शैली पनि ठीक नभएको तर्क गरिरहेका छन् । यसबारे पत्रकार पाण्डे के भन्छन् त ? हेर्नुहोस् भिडियो कुराकानी

Comments