काठमाडौं । महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो । तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो । यस्तो विभत्स घटना देखेको थिइन’, डीएसपी खिउजु भन्छन् ।

घटनास्थल हेर्दा एउटा प्रहरी अधिकारीकै आङ सिरिङ हुन्छ भने सर्वसाधारणलाई कस्तो लाग्दो हो ? घटना हो, ललितपुरको ढोलाहिटीमा भएको अञ्जना महत हत्या । प्रहरी टोली घटनास्थलमा पुग्दा उनको टाउकोकाे थोरै छाला मात्रै शरीरमा अड्किएको थियो । खुट्टाले भुइँ छोए पनि आधा शरीर खाटमै थियो । कोठामा रगतको आहाल थियो । अञ्जनामाथि कतिपटक हतियार प्रहार गरियो भन्ने लख काट्नसमेत मुस्किल छ । खुला रुपमा देखिने खत त कति हो कति ! कपडा पनि अधिकांश ठाउँ काटिएका थिए । घटनास्थल पुगेका प्रहरी अधिकारीहरु आफैं प्रतिप्रश्न गर्छन्, ‘कसरी मानिस यो हदसम्म पनि जान सक्छ ?’

तर, प्रहरीको कामै अपराध अनुसन्धान गर्ने हो । जस्तो अवस्था भएपनि अनुसन्धान गर्नैपर्छ । त्यसैले प्रहरीले प्रारम्भिक जाँच मुचुल्का तयार पारे र लाशलाई पोष्टमार्टमका लागि पठाउने तारतम्य मिलाए । ढोलाहिटी चोकबाट एक सय मिटर पर रहेको घरमा त्यो दिन आमा पुष्पा, बुहारी अञ्जना र जेठाजु उज्वल मात्रै थिए । बुबा कमलबहादुर र अञ्जनाका पति प्रज्वल विहानै काममा निस्किएका थिए ।

दिउँसो करिब साढे दुई बजेतिर उज्वल दौडिँदै आमा भएतिर आए । छोरा हल्ला गर्दै आएपछि तल्लो तलामा सुतेकी उनी ब्युझिइन् । ‘पुलिस बोलाइदिनू…’, परैबाट पुष्पाले आवाज सुनिन् । उनले छोराको कुरा बुझिनन् । ‘पानी आएछ कि क्या हो भनेर सोधेँ पनि’, उनी सम्झिन्छिन्, ‘तर, जब ऊ मेरो कोठामा आयो, त्यसपछिको अवस्था म कल्पना समेत गर्न सक्दिन ।’ रगतैरगतले लतपतिएको हातमा खुकुरी बोकेर उनी तल झरेका थिए । ‘मैले त्यसलाई मारिदिएँ’, उनको भनाइलाई उद्धृत गर्दै आमा भन्छिन्, ‘पुलिस बोलाइदिनू ।’ जब उनी बुहारीको कोठामा गइन्, तब विभत्स हत्या देखिन् । लगत्तै प्रहरीलाई खबर गरियो ।

शरीरमा पटकपटक खुकुरी प्रहार गर्दा न त घरमै रहेकी आमाले थाहा पाइन् न छिमेकीले । निद्रामा मस्त भएकाले आफूले केही थाहा नपाएको उनी बताउँछिन् । प्रहरीलाई खबर हुनेवित्तिकै नजिकै रहेको सीआरभी टोली पुग्यो र घटनास्थललाई घेरा हाल्यो ।

Comments