गेरुवा गाउँपालिका- ४ खोनपुर बर्दिया की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिए की बस्नेतले ०७५ फागुन ७ गते माइती कै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।

घर मै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिम पूर्ण अबस्थामा छ।यतिखेर बस्नेतको शरीर सुन्निने र ज्वरो आउने समस्याबाट निकै पीडित छिन्। गाउँ कै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्द रावतसँग शारीरिक सम्बन्धले भावनालाई यतिखेर कष्ट पूर्ण अवस्थामा पुर्‍याएको हो । एउटै विद्यालयमा पढ्दै गरेका भावना र नन्दको पछिल्लो अवस्थाले अरुको पनि निकै मन पिरोल्ने गरेको छ ।

शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ भनिन्छ तर उनीहरुको अवोध सम्बन्धले विवाह पूर्व कलिलो उमेर मै सन्तान जन्मियो । नन्द र भावनाको सम्बन्धबाट जन्म लिएकी पुर्णिमा को स्वास्त्य अवस्था पनि निकै दयनिय छ । भावानालाई अहिले सुत्केरी अवस्थाको पीडा त छदैछ अर्को तिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ छ। सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानु पर्छ तर आर्थिक अभावका कारण पौष्टिक आहार त के सामान्य पेटभरि खान समेत पाएकी छैनन्।

Comments