उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ सहयोग रहने अपेक्षा गर्नुभएको छ । उपराष्ट्रपतिसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले आज गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपालले छिमेकी मुलुक चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत् उत्पादन वृद्धि, पर्यटनको विकास, खनिज पदार्थको उत्खनन् र पूर्वाधार निर्माण र विकास नेपालको प्राथमिकता रहेको जानकारी गराउँदै उहाँले यी क्षेत्रमा लगानी गरेर नेपालको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । “हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने सङ्कल्पका साथ अगाडि बढेका छौँ”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ । यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ ।”

भेटमा गभर्नर रेन्जियानले चीन र नेपालले विकास र समृद्धिका लागि एकआपसमा सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य रहने बताउनुभयो । उहाँले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत्, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदनप्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताउनुभयो । गभर्नर रेन्जियानले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

Comments