इटहरी– रुँदै अचानक घर फर्किएकी जेठी छोरी अस्मितालाई हनहन्ती ज्वरो आयो। ज्वरो नथामिएपछि बाआमाले सुरुमा धामीझाँक्री देखाए। पार नलागेपछि अस्पताल पनि पुर्‍याए। आँखाको सामान्य औषधि दिएर डाक्टरले घर फर्काइदिए। तर अस्मिताको बिराम बिसेक भएन। दिनदिनै अवस्था बिग्रँदै गयो।

केही दिनमा ज्वरो त थामियो तर बिस्तारै मानसिक समस्या देखा पर्न थाल्यो। ‘त्यसपछि एक्कासि ढल्ने, आँखा बटार्ने, मुर्छा पर्ने, कसैले भनेको नटेर्ने, बाटोमा मनपरी बोल्दै हिँड्न थाली,’ आमा मनमाया तामाङ भन्छिन्। उनका अनुसार सुरुमा अस्मितालाई आँखा चिलाउने र जिउ दुख्ने समस्या देखिएको थियो।

धामीझाँक्रीले ठिक नपारेपछि काठमाडौंको वीर अस्पताल पुर्‍याएको मनमायाको भनाइ छ। वीरका डाक्टरले सामान्य भने पनि रोग झनै बढ्न थाल्यो। त्यसपछि भारतका विभिन्न अस्पतालमा पुर्‍याउँदा पनि बिसेक भएन।

‘कुनै अस्पताल पुर्‍याउँदा पनि रोग पत्ता नलागेपछि घरैमा ल्याएर राखेका हौं,’ मनमाया भन्छिन्, ‘भएभरका धामीझाँक्री र सुने/देखेजति डाक्टरलाई देखाउँदा समेत निको भएन।’ इटहरी-२ का लक्ष्मण र मनमायाका छोरी अस्मिता मात्र होइन चारै सन्तान अपांगताबाट गुज्रिइरहेका छन्। तीन जना चटपटाउनसमेत सक्दैनन्। कान्छो छोरालाई पनि अब त समस्याले गाँजिसकेको छ।

‘दैव निष्ठुरी भएपछि!’ सुरुमा सबै सन्तान स्वस्थ जन्मिएका थिए। १५/१७ वर्ष पुगेपछि सबै भटाभट थला पर्न थाले। ‘पहिला सबै राम्रै जन्मिएका हुन्। स्वास्थ्य पनि राम्रै थियो। तर, अहिले सबै नानीहरू ओछ्यानमा छन्। खै, केले गर्दा हो एउटा नानी पनि राम्रो हुन सकेन,’ मनमाया सुस्केरा काढ्छिन्।

भिडियो-

Comments