सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । आक्रमणकारीको पञ्जाबाट भागेर ज्यान जोगाउन सफल भएकी किशोरी सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको प्रहरी समक्ष बयान दिइन् ।

सीता बमबहादुर फियाकको नातिनी हुन् । सीता मामाघर आएकी थिइन् । आक्रमणबाट सीता पनि गम्भीर घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको छ । उनको हाल दमकमा उपचार भइरहेको छ ।

सामूहिक हत्या कसले गर्यो भनेर प्रहरीले आधिकारिक रुपमा केही खुलाएको छैन । तर, छिमेकी र परिवारका अन्य सदस्यको बयान र घटनामा बाँच्न सफल सीताको बयानले आत्महत्या गरेका मानबहादुरले हत्या गरेको हुनसक्ने आधारहरु देखाएका छन् ।

मानबहादुर र श्रीमती मनकुमारी फियाकबीच विगत केही वर्षदेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।

सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको थियो ।

यता, सीताले पनि घटनामा एक जना मात्र आक्रमणकारी देखेको बायन दिएको कारण मानबहादुरले पारिवारिक रिसिबीका कारण हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।
यता, मानबहादुर झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहिक हत्यामा माखिमको नै संलग्नता हुन सक्ने थप आधार फेला परेको छ । यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Comments