धादिङ – प्रधानमन्त्री केपी ओली धादिङको गल्छी गाउँपालिका–४ आउँदा छिमेकी थाक्रे गाउँपालिकाले सबै स्कुलमा बिदा दिएको छ। धादिङको गल्छी गाउँपालिका–४ मासटारमा सूचना महामार्ग ९अप्टिकल फाइबर० शिलान्यास गर्न प्रधानमन्त्री ओली आउने भएपछि बिदा दिइएको हो।गाउँपालिकाभित्रका सबै स्कुल बिदा दिएकोबारे गाउँपालिका उपाध्यक्ष र गाउँपालिकाका शिक्षा अधिकृतको भनाइ बाझिएको छ। गाउँ कार्यपालिकाले नै घोषणा गरेर बिदा दिएको नभई स्रोतकेन्द्रले सट्टा बिदा दिएको गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रूपाखेतीले बताइन्।

‘हामीले बिदा दिने निर्णय गरेको होइन, जिल्लामा ठूलो कार्यक्रममा प्रधानमन्त्री आउने भएपछि शिक्षकले पनि सहभागी हुन पाउनुपर्ने माग आएकाले स्रोत केन्द्रले पछि आउने कुनै बिदाबाट कटाउने गरि सट्टा बिदा दिएको जानकारी पाएकी छु’, उनले भनिन्। तर अहिले जिल्लामा कुनै पनि स्रोत केन्द्र छैनन्। सरकारले नै साबिकका सबै स्रोतकेन्द्र खारेज गरिसकेको छ।अन्नपुर्णमा खबर रहेको छ ।

थाक्रे गाउँपालिकाका शिक्षा अधिकृत दीपेश सिलवालले भने बिदा नदिएको दाबी गरे। केही स्कुलले आफूखुसी सट्टा बिदा दिएको हुनसक्ने उनले बताए। उनले भने, ‘विद्यालय आफैंलाई सट्टा बिदा तोक्ने अधिकार हुन्छ, केही स्कुलले बर्खे बिदाबाट कटाउने गरि सट्टा बिदा दिएको सुन्नमा आएको छ तर पालिकाको शिक्षा शाखाबाट बिदा दिने र पालिकाभरि सट्टा बिदा दिने कुनै निर्णय भएको छैन।’

Comments