श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ ।सम्बन्धविच्छेदको निहुँमा पाँचथरको मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनाको गत राति वीभत्स हत्या भएको प्रहरीले स्थलगत अध्ययनपछि जनाएको होे । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले सङ्घीय प्रहरी एकाइ धरानको टोलीसमेतको प्रारम्भिक अनुसन्धानबाट माखिमले नौ जनाकै हत्या गरेको देखिएको बताउनुभयो । गत राति फियाक र शेर्माको घरमा रहेका नौ जनाको वीभत्स हत्या भएको थियो ।

स्थानीयका अनुसार फियाक र शेर्माका परिवार आर्थिकरुपमा निम्न स्तरको रहेकाले परिवारका सदस्यहरुको रिसइबीका कारणले मात्रै घटना भएको हुनसक्ने स्थानीयको भनाइ छ । स्थानीय शिक्षक गणेशप्रसाद लुइँटेलले भन्नुभयो, “आफ्नो मेसो गर्ने यो निर्धो परिवारमाथि अरु कसले किन हमला गर्छ ? हामी अरुले आक्रमण गर्ने कुरा सोच्नसमेत सक्दैनौँ ।” लुइँटेलका अनुसार मृतक शेर्माले आफ्नो साढु भाइ (सालीको श्रीमान्)बाट आफूहरुमा मनमुटाव रहेको बताएका थिए । “हामी असुरक्षित हुनसक्छौँ भनेर धनराजले मलाई हिजो मात्रै भनेका थिए”, लुइँटेलले भन्नुभयो “आज यस्तो आपत आइ लाग्यो ।”

सम्बन्धविच्छेदले उब्जाएको द्वन्द्व – बमबहादुर फियाककी कान्छी छोरी मनकुमारीको पाँच वर्षअघि मानबहादुर माखिमसँग राजीखुशी विवाह भएको थियो । उनीहरुबाट जुम्लाहा बच्चा भए पनि शिशु अवस्थामै मरेका थिए । यसपछि मनकुमार माइतीमै बस्न थालिन् । मनकुमारीले मानबहादुर आफूसँग सम्बन्धविच्छेद गर्न दबाब दिँदै आएकी थिइन् । मृतक मनकुमारीका जेठा भिनाजु रणबहादुर लिम्बूले भन्नुभयो, “सालीले सम्बन्धविच्छेद गर्न चाहने, साढु भाइले नमान्ने । यही कारण द्वन्द्व उब्जिएको थियो ।”

वडाध्यक्ष हस्तराज फियाकका अनुसार उनीहरुबीच हालैमात्र सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढेको थियो । “मानबहादुरले सम्बन्धविच्छेद गर्न चाहेको थिएनन् तर पनि उनी केही साताअघि सम्बन्धविच्छेदका लागि तयार भएका थिए”, वडाध्यक्ष फियाकले भन्नुभयो, “यो अकल्पनीय घटना सम्बन्धविच्छेद स्वीकारोक्तिको परिणाम हो । हाम्रो सिङ्गो गाउँ आँशुमा डुबेको छ ।”वडाध्यक्ष फियाकका अनुसार मानबहादुर तीन वर्षदेखि माइतीमा रहेकी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न नमान्नुको कारण आश्चर्यजनक छ । “यता नआए पनि एकोहोरो भएका छन् भन्ने सुनेका थियौँ”, वडाध्यक्ष फियाकले भन्नुभयो, “पछिल्लो पटक उनी लुकिछिपी यहाँ हिँड्ने गरेको सुनिएको थियो ।”

आत्महत्याले दिएको सन्देश – पाँचथर प्रहरीका अनुसार मानबहादुर माखिम आफ्नो घरभन्दा करीब डेढ किलोमिटर तल मलेदोको रुखमा झुण्डिएको अवस्थामा आज दिउँसो फेला परेका थिए । उनको साथबाट रगत पोतिएको खुकुरी, केही कपडा र झोला फेला परेको थियो । उनको शव फेला परेपछि नौ जनाको सामूहिक हत्यामा मानबहादुरको संलग्नता रहेको पुष्टि भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । “तर, उसले एक्लै सबैमाथि खुकुरी हान्यो वा उसलाई सघाउने कोही थियो, त्यो खुल्न बाँकी छ”, पौडेलले भन्नुभयो, “अनुसन्धानबाट यो कुरासमेत खुल्ला ।”

नुनमा सिसाको टुक्रा हालेर मार्ने प्रयास – अघिल्लो आइतबार धनराज शेर्माको भान्साघरको नुनमा सिसाका टुक्रा मिसिएको पाइएको थियो । यस क्रममा धनराजका दुई छोरीसहित केही स्थानीय महिला घाइते भएका थिए । लघु उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत धनराजको श्रीमती जस्मिता शेर्मा प्रशिक्षक थइन् । उनैले आफ्नो घरमा नास्ता बनाई प्रशिक्षार्थीलाई खुवाउथिइन् । शिक्षक लुइँटेलका अनुसार सिसाका टुक्रा भेटिएको कुरालाई धनराजले प्रहरीसम्म पु¥याएनन् । बिरामीहरु हालैमात्र फिदिमस्थित समर्पित अस्पतालमा उपचार गरी फर्किएका थिए । “सिसाका टुक्रा लगाएर धनराजको पूरै परिवार मार्ने योजना थियो कसैको”, स्थानीय हरेन्द्र फियाकले भन्नुभयो, “त्यो सम्भव नभएपछि सामूहिक हत्या भएको हुनसक्छ ।”

एकान्तमा घर, कसैले जानकारी पाएन – गत राति धनराजको घरमा जस्मिताको उपचारका लागि धामी राखिएको थियो । धामीलाई धनराजले आफ्नै घरमा बस्ने जिद्दी गरे पनि धामीले मानेनन् । एकान्तमा रहेका दुवै घरमा एक–एक जनामात्रै पुरुष सदस्य थिए । धनराजको घरभन्दा माथि वडा कार्यालय तथा एउटा घर छ तर धनराजको कच्ची घर तल्लोपट्टि फर्किएका कारण घटना स्थानीयले राति जानकारीसमेत पाएनन् । बमबहादुरको घरको छेउमा दुई वटा घर रहे पनि एउटामा एक वृद्ध महिला र अर्कोमा एक युवतीमात्रै बस्दथे । प्रहरी अनुसन्धानले पनि एकान्तको मौकामा सबैमाथि खुकुरी प्रहार भएको देखाएको प्रहरी निरीक्षक पौडेलले उल्लेख गर्नुभयो ।

वीभत्स हत्याले शोकमग्न गाउँ – बमबहादुरसहित उनकी श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमार फियाक (माखिम) र बमबहादुरकी साइली छोरीकी छोरी आसिका खजुम, बमबहादुरको घरमा हत्या भएको थियो । यस्तै बमबहादुरका जेठा ज्वाइँ धनराजसहित उनकी श्रीमती अस्मिता फियाक (शेर्मा), उनीहरुका दुई छोरी युहाना र मुना शेर्मा तथा धनराजका भाइकी छोरी इक्सा शेर्माको धनराजको घरमा वीभत्स हत्या भएको थियो । घटनामा आशिकाकी दिदी सीता भने भागेर बाँच्न सफल भएकी छन् । उनको झापामा उपचार भइरहेको छ ।

हत्यापछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । घटनास्थलमा गाउँ–गाउँबाट सयौँको सङ्ख्यामा स्थानीयवासी भेला भएका थिए । “हामीले सोच्नसमेत सकेका छैनौँ यहाँ के भइरहेको छ भनेर”, मिक्लाजुङ गाउँपालिकाका उपप्रमुख उर्मिला राईले भन्नुभयो, “यो घटनाको जति निन्दा गरे पनि पुग्दैन् ।” शोकमग्न स्थानीय भावुक र त्रसित देखिन्थे । बमबहादुरको घर वरिपरि सयौँको भीड लागेको थियो ।

शव उठाई धरान पठाइयो – प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीको अनुसन्धानपछि नौवटै शवको मुचुल्का उठाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । “साँझ मुचुल्का बनाई सकिएको छ”, प्रजिअ वस्तीले भन्नुभयो, “भोलिबाट थप अनुसन्धान र शव परीक्षणको काम अघि बढाउन निर्देशन दिएको छु ।” घटनाको अनुसन्धानका लागि तालीमप्राप्त कुकुरसहित सङ्घीय प्रहरी एकाइ धरानबाट प्रहरी वरिष्ठ उपरीक्षक शरद खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो ।

Comments