भोजपुर – भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेकाे पहिरोले बाटाे अवरुद्ध भएपछि समयमा अस्पताल पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेकाे छ ।

Comments