पाँचथरको आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको हत्या भएको घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान थालेको अधिकारीहरूले बताएका छन्। आरुबोटे गाउँका धनराज शेर्मा र बमबहादुर फियाकसहित दुई परिवारका नौ जना मङ्गलवार बिहानै आफ्ना घरभित्रै मृत अवस्थामा फेला परेका थिए।

घटनामा संलग्न भएको आशङ्का गरिएका एक पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ।mइलामनजिकै पर्ने पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटे गाउँ फिदिमबाट झन्डै ६० किलोमिटर टाढा रहेको छ।

मङ्गलवार साँझ त्यहीँ रहेका प्रमुख जिल्ला अधिकारी मुरारि वस्तीका अनुसार आरुबोटेका धनराज शेर्माको घरमा उनीसहित परिवारका पाँच जना र नजिकै रहेको उनको ससुरालीमा बमबहादुर फियाकसहित परिवारका चार जना मृत फेला परेका थिए।धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या भएको वस्तीले बताए।nउनले त्यस्तो घटना आफूले कहिल्यै नदेखेको र घटनास्थल देखेर आफू अत्यन्त स्तब्ध र दु:खी भएको बीबीसीलाई बताए।

“यस्तो मैले कहिल्यै देखेको थिइनँ। मानसिक अवस्था ठिक भएको मानिसले यस्तो पनि कहीँ गर्न सक्छ र भनेकोजस्तो दृश्य छ। अत्यन्त क्रूर र अमानवीय तरिकाले हत्या गरिएको रहेछ।”हत्यामा संलग्न भएको आशङ्का गरिएका एक पुरुषले रूखमा झुन्डिएर आत्महत्या गरेपछि घटना झनै रहस्यमय बनेको छ।

फियाक र शेर्मा परिवारका आफन्त पर्ने भनिएका मनबहादुर माखिम सोही गाउँपालिकाको एक जङ्गलमा रूखमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ।

घटनास्थलबाट भाग्न सफल एक बालिका प्रहरीको आश्रयमा छिन्। सुरुमा उनी भागेर घटनास्थल नजिकैको एक घरमा लुकेर बसेको र पछि उनलाई दमक लगिएको बताइएको छ।

“बाह्र-तेह्र वर्षकी ती बालिकाले घटनाका बेला (हत्यारा) मुख बाँधेर (छोपेर) आएको थियो भनेकी रहिछन्। उनको अवस्था अलि सामान्य भएपछि थप सूचना आउन सक्छ,” वस्तीले बताए।
“वस्तुस्थिति हेर्दा पारिवारिक वा नातेदारभित्रकै संलग्नता भनेर यहाँका आफन्तजन र गाउँबासीले जानकारी गराएका छन्,” वस्तीले भने। उनका अनुसार सदरमुकामबाट निकै टाढा रहेको घटनास्थलबाट शवहरूलाई पोस्टमोर्टम गर्न धरान लगिनेछ। अनुसन्धानमा सघाउन थप प्रहरी त्यहाँ परिचालन गरिएको बताइएको छ।

Comments