डडेल्धुरा । अधिकाँश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागीर । आजभोलि पढेलेखेका व्यक्ति प्रायः जागीरको लागि भौँतारिरहेका हुन्छन् । गैरसरकारी संस्थामा जागिर गर्नेको त लहड नै चलिरहेको छ । तर, कतिपय व्यक्ति यस्ता पनि छन् जो जागीर छोडेर कुनै न कुनै व्यवसायमा रमाइरहेका हुन्छन् । त्यसैको उदाहरण हुन्, कान्ति जोशी ।

उनी विगत एक वर्षदेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडामा ब्युटी पार्लर व्यवसाय गर्दै आइरहेकी छन् । आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन् । उनी दैनिक दुई हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । उनको घरखर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी बचत हुन्छ । “महीनाको यति नै कमाइ हुन्छ भन्ने त छैन तर पनि, मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु,” उनले भनिन् – “घरायसी खर्च पनि यसैबाट चलाएकी छु । बच्चाहरुको स्कुल खर्च पनि धानेकी छु ।”

श्रीमान्को प्रेरणाले आफूले यो व्यवसायमा उनले बताइन् । व्यवसाय शुरु गर्नुभन्दा पहिले उनले एनजिओ÷आइएजिओमा काम गरेकी थिइन् । जोशीले भनिन् – “पछि साथीहरुले प्रेरणा दिनुभयो । त्यसमाथि पनि मेरो श्रीमान् र परिवारका सदस्यहरुको महत्वपूर्ण भूमिका रह्यो ।” परिवारका सदस्य र श्रीमान्ले एनजिओको जागीरले केही पनि हुँदैन भनेपछि आफूले यो व्यवसायमा हात हालेको स्मरण उनी सुनाउँछिन् ।

गैससको जागीर र व्यवसायमा फरक भएको उनको बुझाइ छ । “जागीर र व्यवसायमा आकाश र जमीनको फरक छ,” उनले भनिन् – “जागीर गर्दा १५÷२० हजारका लागि महिनौं कुर्नुपर्छ तर, व्यवसाय गर्दा ५÷६ हजार एकदिनमै कमाउन सकिन्छ ।”

उनले थपिन् – “व्यापार र जागीरमा धेरै फरक छ । व्यापार गर्दै जाने हो भने जागीर त सामान्य झै लाग्छ ।” आफूलाई आजभोलि व्यापार गर्दै जाँदा जागीर गर्नु समय खेर फाल्नु जस्तै लाग्न थालेको उनी सुनाउँछिन् । उनले ब्युटि पार्लरका लागि सामानहरु धनगढी, काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीबाट ल्याउने गरेकी छन् ।

व्यापार गर्दा महिलामाथि धेरै चुनौतीहरु रहेको उनको ठम्याइ छ । “महिलालाई बाहिर हिड्न पनि समस्या हुन्छ, पुरुषहरुले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन्,” उनले भनिन् – “आफू सक्षम र बाठो हुनुपर्छ त्यति धेरै हेप्दैनन् । सुदूरपश्चिमेली समाजमा महिलालाई व्यापार व्यवसाय गर्न कठिन त हुन्छ नै ।”

गैससको जागीरको पैसा र श्रीमान्को कमाइको पैसाले आफूले व्यवसाय शुरु गरेको जोशीले बताइन् । “यो पसल गर्नुभन्दा पहिले म आफैं सानोतिनो जागिर गर्थे, महीनाको २२÷२५ हजार रुपैयाँ कमाउँथे,” उनले भनिन् – “यो व्यवसाय सञ्चालन गर्न श्रीमान्बाट पनि केही पैसा लिएकी छु ।”

जागीरभन्दा पसलबाट घरपरिवार सन्तुष्ट भएको उनले सुनाइन् ।उनले भनिन् – “म भन्दा पनि उहाँ नै खुशी हुनुहुन्छ । राम्रो आम्दानी र घरपरिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा त म भन्दा खुशी त उहाँ नै हुनुहुन्छ ।”

प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी २०६२ सालमा पढाइको सिलसिलामा नेपालगञ्ज गइन् । उतै ६ महिना ब्युटिसियन तालीम लिइन् । परिवारसँगै सल्लाह गरेर शीप सिकेका हुन् । “यो शीप सिक्ने अवसर मलाई मेरा दाजुभाउजू र आमाबुवाले दिनुभएको हो,” उनले भनिन् ।

सौन्दर्यले सबैलाई आकर्षित गर्छ । अहिले आएर महिला मात्र नभई पुरुष पनि पार्लर जान थालेका छन् । आर्थिक सम्पन्नतासँगै ब्युटि पार्लरमै गएर ब्युटि बन्ने महिला–पुरुषको सोखले पार्लर व्यवसाय फस्टाएको छ । कम लगानी, छोटो तालीम, व्यवसाय शुरु गर्दा मनग्य आम्दानी हुने भएपछि यसप्रति धेरैकोे आकर्षण बढेको हो । यसले महिलामा उद्यमशीलता पनि बढाएको छ । यो व्यवसायलाई अझैं विस्तार गरेर लैजाने योजना गरेको उनले सुनाइन् ।

पारिवारिक साथ र सहयोग पाए अझ यो व्यापारलाई विस्तार गर्ने सोच उनको छ । उनले भनिन् –“पारिवारिक खर्च र बालबच्चाको विद्यालय खर्च चलाउन यो व्यापारको थालनी गरेकी हुँ । मैले गर्दै आइरहेको व्यवसायबाट श्रीमान्लाई पारिवारिक खर्चको बोझ कम होस् भन्ने पनि मेरो उद्देश्य हो ।”

गाउँघरमा बेरोजगार रहेका दिदीबहिनीहरुलाई कुनै न कुनै शीप सिक्न उनीे सुझाव दिन्छिन् । “गाउँतिर रहनुभएका बेरोजगार दिदीबहिनीहरु केही सीप सिक्नुस्, आफूले सिकेको शीपको सदुपयोग गर्नुस्,” उनले भनिन् – “शीप सिकेर आत्मनिर्भर बन्नुपर्दछ, घरमा बसेर घाँसदाउरा काटेरै मात्र बस्ने होइन । त्यो त हाम्रो दैनिकी हो ।”

महिला दिदीबहिनीलाई घरमा चुलोचौकामा मात्रै सीमित नरहन उनले आग्रह गरिन् । “महिला भएर घरमा हेपिएर चेपिएर बस्नु हुँदैन, महिलाहरुले पनि पुरुष सरह आम्दानी हुने कार्य गर्नुपर्दछ,” उनले भनिन् – “श्रीमान्कै मुख ताकेर पनि हुँदैन । आम्दानीको बाटो हामी आफैंले रोज्नु पर्छ ।” तरकारी खेती गरेर होस् या बङ्गुर पालेर आफ्नो जीविकोपार्जन आफैं गर्न सक्नुपर्छ भन्ने मान्यता उनी राख्छिन् ।”

Comments