चितवन, ८ जेठ । चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका उनलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । जेठ ३ गते टिकौलीमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा भएको आगजनीको घटनामा उनलाई पक्राउ गरिएको हो । उनले संकलन केन्द्रमा हुलदंगा गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । सो घटना पछि प्रहरीको फरार सूचीमा रहेका रेग्मी बुधबार पक्राउ परेका हुन्।

हुलदंगा र आगजनीका क्रममा असई कल्पना खड्का शख्त घाइते भएकी थिइन। हुलदंगापछि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा रेग्मीलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले बताए ।उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रहरीको फरार सूचीमा रहेका रेग्मी बुधबार दिउँसो आफूलाई पक्राउ नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय गुहार लगाउन पुगेका थिए। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कानुन अनुसार प्रक्रिया अगाडि बढ्ने बताएपछि त्यहीबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

Comments