काठमाडौं, ८ जेठ । ओखलढुंगाका २२ बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । ०५० सालभन्दा अघि लिपेखोलाको कटानका कारण चलेको डाँडागाउँको पहिरोका कारण गाउँ जोखिममा परेको हो । पहिरोले करिब ३ सय रोपनी जमिन बगाइसकेको छ। आधा दर्जनभन्दा बढी घर विस्थापित भएका छन् । पहिरोका कारण सिंगो गाउँ नै धाँजा फाटेको छ।

पहिरोले गर्दा डाँडागाउँ र धनेपुका ५६ घर परिवार उच्च जोखिममा छन्। तत्कालीन जिल्ला भूसंरक्षण कार्यालय ओखलढुंगाले तयार गरेको अभिलेख अनुसार जिल्लाभित्र रहेका १४६ वटा ठूला पहिरो मानव नियन्त्रण बाहिर छन्।

भूकम्पले मोलुङ गाउँपालिकाको हर्कपुर र प्राप्चा, लिखुको टारकेराबारी, खिजीदेम्वाको रगनी लगायतका गाउँ पहिरोको चपेटामा परेका छन्। बस्तीभन्दा तल र माथिको भूभागमा पहिरो गएपछि ती स्थानका बस्ती स्थानान्तरणको काम सुरु गरिएको पुनः निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाइका प्रमुख युवराज खरेलले बताए। पहिरोले विस्थापित ८४ परिवारको स्थानान्तरण प्रकृया सकिएको उनको भनाइ छ।

भूकम्पपछिको पहिरोले विस्थापित भएका बस्ती स्थानान्तरणको काम थालिए पनि अन्य क्षेत्रमा पहिरो रोकथाम र नियन्त्रणका काम हुन सकेका छैनन्। पहिरोबाट सिद्धिचरण नगरपालिका, वरुणेश्वर, माम्खा, मोली, बेतिनी, वाक्सा, च्यानाम, बलखु, हर्कपुरलगायतका स्थानमा रहेका ठूला पहिरोले ५ सय भन्दा बढी हेक्टर जमिन बगाइसकेको छ।

ओखलढुंगा जिल्लालाई भूक्षयका दृष्टिकोणले प्रदेश नं। १ कै सबैभन्दा संवेदनशील जिल्ला मानिएपनि ठूला पहिरो नियन्त्रणका लागि हालसम्म कतैबाट पहल हुन सकेको छैन। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार ओखलढुंगाका २२ वटा बस्ती बर्सेनि पहिरोको उच्च जोखिममा छन्। मध्यम जोखिममा १४ वटा र जोखिममा ३ वटा छन्।

जिल्लाभित्र असंख्य मात्रामा रहेका साना पहिरो नियन्त्रणको प्रयास भइरहेपनि मानव नियन्त्रण बाहिर रहेका ठूला पहिरोले दर्जनौँ बस्ती जोखिममा पारेको छ। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले समितिको बैठकबाट विपद्को अवस्थाको आंकलन गरेर उद्धार तथा राहतका लागि तयारी गरिएको बताए। उनले पहाडमा बाढी पहिरोको जोखिम भएपनि त्यसका लागि सरकारले बृहत योजना ल्याएर नियन्त्रणका काम गर्नु पर्ने बताए। स्थानीय स्तरमा स सना राहत तथा उद्धारका काम मात्र संभव हुने आचार्यको भनाइ छ।

Comments