काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थल निर्माणको सबैभन्दा महत्वपूर्ण र मूख्य काम धावनमार्ग निर्माण सकिएको हो । यहाँ ३ हजार मिटर लामो धावनमार्ग बनाइएको छ ।
भूकम्प तथा नाकाबन्दी कारण एक वर्ष लम्बिएको आयोजनाको असारसम्म धावनमार्ग, टर्मिनल, टावर भवनको काम सक्ने लक्ष्य लिइएको छ।

धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको छ। ट्याक्सी वेको काम अन्तिम चरणमा रहेको आयोजनाले जानकारी दिएको छ। त्यस्तै एप्रोन यसअघि नै निर्माण भइसकेको छ।
टर्मिनल भवनमा छाना हाल्ने काम द्रुत गतिमा भइरहेको र असार अघि नै सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ। टावरको काम पनि अन्तिम चरणमा पुगेको छ भने विमानस्थलमा चाहिने सञ्चार तथा सेफ्टी इक्युपमेन्टका लागि ठेक्का भइसकेको छ। यो कामका लागि एरो थाइ कम्पनीले जिम्मा पाएको छ।

प्राधिकरणका अनुसार धावनमार्ग निर्माण सम्पन्न भएसँगै तत्कालका लागि अब आकस्मिक उडान–अवतरणका लागि त्रिभुवन विमानस्थलको विकल्प समेत तयार भएको छ ।
विमानस्थलको सिभिल काम सकिएपछि अन्य काम यही भदो÷असोजसम्म सकिने र ढिलामा २०७६ को माघसम्म व्यावसायिक उडान गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको तयारी छ। यद्यपी विमानस्थलमा धावगनमार्ग तयार भएको र आन्तरिक उडानहरु अबदेखि नयाँ धावनमार्गबाटै हुने छन्।

Comments