सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशका रूपमा चोलेन्द्र शमशेर राणा आउने देखेपछि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले आफुले हारेको मुद्दा ब्युँताउने कोशिश थालेकी छन् ।

नेपाल ट्रस्टमा जान लागेको छाउनीमा आफुले पाएको दाइजोको जग्गाका विषयमा प्रेरणाले सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् । जबकि, उक्त जग्गा नेपाल ट्रस्टमा पठाए हुने आदेश सर्वोच्चले दिइसकेको थियो ।

प्रेरणाका तर्फबाट गोकुलबहादुर रोकायाले वारेसनामाका आधारमा सर्वोच्चमा निवेदन दिएका छन् । प्रेरणाले यसै बेला यो निवेदन दिनुको संयोग गजबको छ ।

राजा वीरेन्द्रको नाममा रहेको उक्त जग्गा ज्ञानेन्द्रले राजा भएपछि प्रेरणालाई दाइजो दिएका थिए । छाउनीमो १५ रोपनी जग्गा र घर छ । २१ माघ २०७३ मा तत्कालिन न्यायाधीश सुशीला कार्की र दिपकबहादुर कार्कीको इजलासले उक्त जग्गा नेपाल ट्रस्टमा ल्याउने आदेश दिएको थियो ।

तर गज्जबको कुरा के भने त्यो फैसला अघि यो जग्गा प्रेरणाको दाइजो भएकाले दिनुपर्ने फैसला सर्वोच्चमा भइसकेको थियो । र, त्यो फैसला गर्नेमा तत्कालिन प्रधानन्यायाधीश रामकुमार साह र अब बन्न लागेका प्रधानन्यायाधीश श्रीमान्, चोलेन्द्र शमशेर राणा थिए ।

नेपाल ट्रस्ट र काठमाडौं महानगरपालिकाले उक्त जग्गा ३५ दिनभित्र घरजग्गा खाली गर्न २५ वैशाख २०७५ मा प्रेरणालाई पत्र समेत लेखेको थियो ।

प्रेरणाको बिहे राजबहादुर सिंहसँग भएको थियो । कारोबारमा फँसेका, क्यासिनोको लत लागेका र सम्पत्तिमा कमजोर रहेको भन्दै छोरीको आर्थिक सुरक्षणका लागि पूर्वराजाले छाउनीको उक्त जग्गा दाजु वीरेन्द्रको नामबाट छोरीको नाममा सारेका थिए ।

त्यतिमात्र नभएर प्रेरणा बिरामी पनि छन् । उनको स्नायु सम्बन्धी समस्या छ । स्वास्थ्यमा पनि त्यति गतिलो अवस्था नरहेका कारण प्रेरणालाई दिइएको दाइजोमा नै गणतान्त्रिक सरकारले दाबी गर्दै नेपाल ट्रस्टमार्फत जग्गा लैजाने भएपछि सर्वोच्च अदालतसम्म मुद्दा पुगेको थियो ।

कतिपय अवस्थामा त उनको घरेलु झगडाका कुरा पनि बाहिर आउने गरेका थिए । सोही कारण दाजु पारस शाहले ज्वाँई राजबहादुर सिंहलाई पेस्तोल देखाएको चर्चा चल्ने गरेको छ । दैनिक नेपाल बाट

Comments