नेपालको सबैभन्दा ठूलो दरवार हत्याकाण्डका बारेमा केही नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । २०५८ साल जेठ १९ गते नेपालका राजपरिवारको वंश नाशहुने गरी भएको हत्याकाण्डको रहस्य गर्भमै छ । तर पूर्वराजाका निकट मानिएकाहरुले लेखेका स्मरणहरुमा केही नयाँ तथ्य उजागर हुन थालेका छन् । दरबार हत्याकाण्डका बेला अनुसन्धानको सहयोगका नाममा भारतीय सेना नेपाल छिर्न खोजेको नयाँ कुरा खुलासा भएको छ ।

तत्कालिन राजा वीरेन्द्र शाहका पाश्र्ववर्ती सुन्दरप्रताप रानाले सार्वजनिक गरेको आत्मकथा ‘दरबारको दुखान्त’मा यस्तो तथ्य उल्लेख छ । त्यतीबेला भारतीय सेनाले अनुसनधानका नाममा नेपाल छिर्ने प्रस्ताव राखेको थियो ।

‘भारतीय सेनाले अनुसन्धानको सहयोगका लागि नेपाल आउने अनुमति मागेको थियो, नेपालको तत्कालिन परिस्थितिमा छिमेकी मुलुकको सहयोग पनि हुन सक्थ्यो होला तर त्यसको नकारात्मक प्रभाव पनि पर्ने अवस्था थियो’, रानाले भावार्थमा यो तथ्य उल्लेख गरेका छन् ,‘तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले त्यस्तो अनुमति दिएन ।’

तत्कालिन राजारानीसहित शाही परिवारका १० सदस्यको एकै पटक हत्या भएको थियो । मुलुकनै शोकमा डुबेको बेलामा भारतले इमोशनली राखेको सो प्रस्ताव प्रधानमन्त्री कोइरालाले चलाखीपूर्ण हिसाबले अस्वीकार गरेको उनले उल्लेख गरेका छन् ।

दरबार हत्याकाण्ड हुनासाथ तत्कालिन माओवादीले राजसंस्था ढलेको भनी प्रचार गरेको सन्दर्भलाई पनि उनले उल्लेख गरेका छन् । त्यसबेला तत्कालिन माओवादीले उक्त हत्याकाण्डलाई ‘नयाँ कोतपर्व’ को शंज्ञा दिएको थियो । उनको पुस्तकमा उल्लेख छ,‘माओवादीहरूले राजतन्त्रको अन्त्य भएको र आकस्मिक रूपले गणतन्त्र स्थापित भइसकेको प्रचार गरेका थिए ।’

Comments