काठमाडौं । बेलायतमा आकर्षक तलबमा काम गरिरहेका युवाले त्यहाँको काम छोडेर नेपालमै नयाँ ब्यवसाय सुरु गरेका छन् । काठमाडौंको मनहरा फाँटमा लन्ड्रिपार्क उद्योग सुरु गरेका हुन् । त्यसका लागि उनीहरुले नेपालमा पहिलो प्रटक प्रयोग गरिएका मेशिन नेपाल भित्र्याएका छन् । लुगाधुने ब्यवसायसंग सम्बन्धित सो काम निकै ब्यवस्थित तरिकाले सुरु गरिएको छ ।

उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. १० हँडियाका सन्तोषसिंह कार्की र उनका दुई सहयोगी मिलेर यस्तो ब्यवसाय सुरु गरेका हुन् । ७ वर्ष बेलायत बसी स्वदेश फर्केका उनले आफ्नै देशमा केही गर्ने चाहले व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

तीनजना युवाहरू मिलेर सञ्चालनमा ल्याएको लन्ड्रिपार्कमा ७५ लाख रुपैयाँ लगानी लगाएका छन् । उनलाई सुनसरीका दुई युवाहरु प्रविण पोखरेल र सुरज बस्नेत साथ दिएका छन् ।

कपडा धुलाइसँग सम्बन्धित यस व्यवसायमा अमेरिकामा निर्मित तीन वटा आधुनिक कमर्सियल वासिङमेसिन राखिएको छ । त्यसमध्ये एउटा वेट क्लिन मेशिन छ । प्रिमियम कपडाहरूलाई सुरक्षित तरिकाबाट धुनका लागि वेट क्लिन मेसिन ल्याइएको हो । यो मेसिन नेपालमा पहिलो पटक आफूहरूले ल्याएको उनीहरूले दाबी छ ।

उनीहरुले घर-घरमै पुगेर सेवा दिने गरेका छन् । सफा गरिएका कपडा घरमा पुर्याउन गाडीको समेत ब्यवस्था गरिएको छ । कार्यालयमै आउने ग्राहकका लागि निशुल्क वाइफाईको ब्यवस्था छ भने खाजा नास्ता खाने ठाउँ पनि छ । सेवालाई पारदर्शी बनाउनका लागि ग्राहकका आँखै अगाडि कपडाको धुलाई गरेर दिने गरेको उनीहरुले बताए ।

कम्पनीले ग्राहकसँग कपडा ल्याउनका लागि २ वटा कलेन्सन सेन्टर स्थापना गरिएको छ । लन्ड्रिपार्कले सर्वसाधारणको अतिरिक्त व्यवसायिक संस्थाहरू जस्तै मेसिन नभएका ड्राइक्लिनर्स, होटल, स्कूल, कलेज, बैंक, फाइनान्स, इन्स्योरेन्स, एयरलाइन्स र सहकारीका युनिफर्महरूलाई समेत आफ्नो सेवा लक्षित गरेको छ ।

Comments