काठमाडौं । नेपालको पूर्वाधार विकासमा ढिलासुस्ती छ । ढिला त हुन्छ नै कामै नहुने परिपाटी पनि छ । तर, दातृ निकायले थालेका परियोजना भने ढिलै भएपनि सम्पन्न हुने गरेका छन् । जापानले आफ्नै लगानीमा थालेको बिपी राजमार्गको स्तरोन्नति झण्डै २४ वर्षपछि सकियो । अहिले यो सडक नेपालकै भब्य र स्तरीय सडकमा गनिन्छ ।

विकसित देशको जस्तो चिल्लो र आकर्षक देखिने सडकले जो कोहिलाई विदेश नै गएको भान हुन्छ । धुलिखेल हुँदै सिन्धुलीसम्मको सडक स्तरीय र निकै मनोरम छ । सिन्धुली जाँदा बाटोमा पर्ने अग्ला पहाड खनेर जापानले मजबुत सडक निर्माण गरिदिएको छ ।स्तरीय सडकका कारण धुलिखेलदेखि सिन्धुली जाँदम छुट्दै आनन्द मिल्छ । धेरै ठाउँमा घुमाउरो भएकाले यो सडकखण्ड जोखिमपूर्ण छ । तर, संयमित भएर गाडी चलाउनेलाई यही घुमाउरो सडक गज्जब लाग्छ ।

विस २०५२ सालमा जापानको अन्तर्राष्ट्रिय संस्था (जाइका) र जापान सरकारको सहयोगमा बनाइएको बिपी राजमार्ग सन् २०१५ मा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यो सडकखण्ड कुल १६० किलोमिटरको छ । बिपी राजमार्गलाई पूर्वी तराईलाई जोड्ने वैकल्पिक मार्गको रुपमा पनि लिने गरिएको छ ।यो सडक निर्माणमामा जापानले २६ अर्ब जापानी येन खर्चेको थियो ।

Comments